Logo
Logo

महासंघ र परिसंघबीच आपसी सहकार्य गर्नेबारे छलफल


441
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ ।

महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई वधाइ एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका नेतृत्वले सहकार्यमा जोड दिएका हुन् ।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेश कुमार अग्रवाललाई वधाइ दिदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताए ।

हामीले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएका थियौ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ, उनले भने । ‘महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विहीबार संयुक्त रुपमा आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले सकारात्मक सन्देश दिनेछ,’ ढकालले भने ।

यसैगरि परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरुबीच पनि सहकार्य आवश्यक रहेको बताए । महासंघको स्वागतका लागि धन्यवाद दिंदै उनले भने, ‘हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।’

परिसंघको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसंघ र महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्