
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको बताए । ‘मुलुकको अर्थतन्त्रलाई चलायमान बताउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छ’, उनले भने ।
राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै उनले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दाबी गरे ।
अर्थमन्त्री महतले देश आर्थिक हिसाबले समस्यामुक्त नभएको भन्दै उनले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त नहुने जिकिर गरे । ‘अर्थतन्त्रमा बहस चलिरहन्छ, समस्या आइरहन्छ, समाधानको बाटो पनि पहिल्याउँदै जाने हो’, उनले भने ।
उनले आवश्यकताको तुलनामा सम्बोधन गर्न सकिने विषय अन्त्यन्त कम रहेको उल्लेख गरे । ‘आवश्यकता र माग ठूलो छ, त्यसमा असन्तुष्टि आउनु स्वभाविक हो । धेरै विषय निर्णायकरुपमा सुधार गर्दै जानुपर्छ’, उनले भने ।










