
काठमाडौं, २ पुस । नेपाल सरकारको समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)द्वारा तयार पारिएको बसाइँसराइको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचनाको विश्लेषण ‘बसाइँसराइ अभिलेख’ सार्वजनिक गरिएको छ । सो अभिलेखमा आप्रवासी कामदारको सुरक्षालाई ध्यान दिन सुझाव दिइएको छ ।
उक्त अभिलेखलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा बुधबार एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । सान्दर्भिक तथ्यांक प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयोग पु¥याउन र बसाइँसराइलाई विकास योजनामा मूलप्रवाहीकरण गर्ने ध्येयले अभिलेख तयार गरिएको आइओएमले जनाएको छ ।
चार भागमा विभाजित अभिलेखको पहिलो भागमा बसाइँसराइको प्रवृत्तिको तथ्यांक र विश्लेषण, दोस्रो भागमा बसाइँसराइले आर्थिक–सामाजिक तथा विकासका मुख्य सूचकमा परेको असर, तेस्रो भागमा बसाइँसराइलाई व्यवस्थित गर्ने शासकीय संरचना र चौथो भागमा नीतिनिर्माताका लागि सुझाव दिइएको छ । सो अवसरमा मन्त्री यादवले श्रम आप्रवासनलाई सुरक्षित बनाउन सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने नीति लिएको र विप्रेषणलाई उत्पादशनील क्षेत्रमा लगाउने जानकारी दिए ।
वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति विसंगति हटाउँदै म्यानपावर कम्पनीलाई नियमन गरिने उनले बताए । मन्त्री रायले भने, ‘सरकारले आफ्ना संयन्त्रमार्फत विगतदेखि नै आप्रवासी कामदारका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’
नीति अनुसन्धान केन्द्रका अध्यक्ष गणेश गुरुङले सही तथ्यांक नहुँदा नीति निर्माण गर्न समस्या भइरहेको उल्लेख गरे । बसाइँसराइ अभिलेखमा समोवश तथ्यांकका आधारमा नीति निर्माण तहमा पैरवीका लागि सहयोग पुग्ने उनको विश्वास छ । उनले भने, ‘यही तथ्यमा आधरित अभिलेखलाई प्रयोग गरेर बसाइँसराइसँग नीति निर्माण गर्न तथा कानून सुधार गर्न आइओएमको भूमिका हुनुपर्छ ।’
यहाँस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भ्यालरी जुलियन्टले बसाइँसराइ अभिलेखले नेपाल तथा विदेशमा रहेका आप्रवासी कामदारलाई हक अधिकार स्थापना गर्न सहयाग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
करिब पाँच लाख युवाले बैदेशिक रोजगारीका लागि मुलुक छाड्ने गरेको तथ्यांक रहेको छ । गरिबी, बेरोजगारीलगायत कारणले नेपाली युवा विदेश जानुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको थियो ।
आइओएमका नेपाल प्रमुख लरिना ल्याण्डोले आप्रवासी रणनीतिलाई नयाँ ढंगबाट लैजान बसाइँसराइ अभिलेख तयार गरिएको बताइन् । आप्रवासनले ‘स्रोत तथा गन्तव्य मुलुकलाई भलाइ गरोस्’ भन्ने आइओइमको चाहना भएको उनको भनाइ छ ।
अभिलेखमा बसाइँसराइलाई व्यवस्थित बनाउन २४ वटा सुझाव दिइएको छ । नेपालमा विभिन्न तहमा आप्रवासनको विषयलाई हेर्ने निकाय छन् । आप्रवासनसम्बन्धी बृहत् नीति निर्माण गर्ने र संस्थागत समन्वय संयन्त्रको स्थापना गरी समन्वयात्मक ढंगबाट कामलाई थप प्रभावकारी बनाउन सुझाव दिइएको छ ।
अभिलेखले आप्रवासी कामदारको सुरक्षाको प्रयासलाई थप प्रभावकारी बनाउन तथा सुरक्षित वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गर्न सुझाव दिइएको छ । अभिलेखमा वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप तथा क्षमताको पर्याप्त फाइदा लिन नसकिरहेको अवस्थामा उनीहरुलाई स्वदेशमै लगानीका अवसर प्रदान गर्न र उचित रोजगारीको खोजी गर्नेतर्फ ध्यान दिन आग्रह समेत गरिएको छ ।
विद्यमान कानूनको उचित कार्यान्वयन र कानूनको पालना भए नभएको अनुगमन गर्ने सुनिश्चितता गर्नु आवश्यक भएको अभिलेखमा उल्लेख छ । आप्रवासनसँग सम्बन्धित कानूनको समीक्षा गरी थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिइएको छ । विभिन्न सामग्रीको विस्तृत अध्ययन र विभिन्न तहका सरकारी निकाय, नागरिक समाज सम्बद्ध संस्था, ट्रेड युनियन, अनुसन्धानमुखी संस्था, राष्ट्रसंघीय निकाय र प्राज्ञिक व्यक्तित्वसँग विभिन्न चरणमा परामर्श गरी सो अभिलेख तयार पारिएको आइओएमले जनाएको छ ।












