
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
बिहीबार बैठक सुरु भएलगत्तै एमालेका भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै बैठक अघि बढ्न नसक्ने जानकारी गराए ।
त्यसपछि एमालेका सांसदहरु उठेर विरोध जनाइरहे । १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक बस्न आग्रह गरेपनि एमालेका सांसदहरुले उठेर विरोध गरेपछि शुक्रबार दिउँसो १२ बजेर २९ मिनेटमा बैठक बस्नेगरी स्थगित गरेका हुन् ।
यसअघि बुधबार पनि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गरेको थियो ।










