काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ । श्ुक्रबार अपरान्ह ३ बजेका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित भएको जानकारी गराइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको विवादास्पद अभिव्यक्तिका कारण संसद्मा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि बैठक स्थगित भएको हो ।

गत मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेर सदन अवरोध गरेको थियो । उक्त अवरोधपछि बैठक शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको थियो । तर, सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सदनलाई सहजरुपमा अघि बढाउने विषयमा दलहरुबीच सहमति नभएकाले बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
श्ुक्रबार तय गरिएको बैठकमा मिटरब्याजपीडितलाई न्याय दिन सरकारले ल्याएको विधेयकमा माथि छलफल गर्ने सम्भावित सूची थियो । यसअघि एमालेले संसद बैठक अवरुद्ध गर्दा उक्त विधेयक निष्क्रिय भएको थियो ।










