काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको कार्ययोजना २०८० र ३ महिनाको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय प्रहरी प्रवक्ता कुँवेर कठायतले भुटानी शरणार्थी प्रकरणमा गिरोहलाई सहयोग गरेको आरोपमा बाहिर चर्चा गरिएका नामहरुप्रति छानबिन भइरहेको बताए ।

‘यो अनुसन्धानका क्रममा बाहिर नाम आएका व्यक्तिहरुमाथि पनि छानबिन भइरहेको छ, त्यसमा तथ्यबाट थप नामहरु आए तीमाथि पनि अनुसन्धान हुन्छ’, उनले भने ।
पछिल्लो तीन महिनामा नेपाल प्रहरीले राष्ट्रिय रुपमा चर्चित ५ वटा मुद्दाको सफल अनुसन्धान गरेको उनको भनाई छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण, विद्युतीय सट्टेबाजी, सहकारी ठगी र मिटरब्याजीविरुद्ध प्रहरीले पछिल्लो समय उल्लेखनीय हुने गरी अनुसन्धान गरेको छ’, उनले भने ।
पछिल्लो तीन महिनामा प्रहरीले ३ हजार ५६२ जना फरार आरोपीलाई पक्राउ गरेको उनले बताए । उनले भने, ‘यो अवधिमा प्रदेश प्रहरी कार्यालयबाट पनि रचनात्मक कार्यहरु भएका छन् ।’
उनका अनुसार उपत्यका प्रहरीले ‘सुरक्षित उपत्यका अभियान’, कोशी प्रहरीले ‘पीडित पुनः भेटघाट कार्यक्रम’, मधेशले ‘अल्पसंख्यकसँग प्रहरी’ र बागमतीले ‘स्मार्ट प्रहरी कन्ट्रोल रुम’ अभियान चलाइरहेको छ ।










