
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय आत्महत्याका घटना बढेकोप्रति चिन्ता प्रकट गरेका छन् ।
मुलुकको आर्थिक सामाजिक र राजनीति अवस्थाले पनि जनतामा निराशा पैदा गरेको उनको भनाइ छ । महामन्त्री थापाले दैनिक आत्माहत्याको घटना बढ्नुले अत्यास लागेको भन्दै आफ्नै राजनीतिप्रति प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ? भन्दै प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्, हामीले गरेको राजनीतिले युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ? खै हामीले समाजको आवश्यकता बुझेको ?’
आत्महत्या रोकथामको लागि ठोस कदम नचाल्ने हो भने भविष्यमा थप क्षति बेहोनुपर्नेमा थापाले सचेत गराएका छन् । मानसिक स्वास्थ्य सम्बन्धी चेतना, परामर्श र उपचार स्थानीय निकायबाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गर्नुपर्नेमा थापाको जोड रहेको छ ।










