काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताएका छन् ।

शनिबार काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठिक बाटो अघि बढाउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरु प्रयोग भएका दृश्यहरु देखिन लागेकाले समयमा नै सजक हुनुपर्ने धारणा राखे ।
भूराजनीतिक चपेटामा देश फस्न लागेको र पुर्खाबाट प्राप्त गरेको भूमि नै सुरक्षित नरहने हो कि भन्न आशंकाबाट मुक्त हुनुपर्ने भन्दै उनले यसका लागि संघीयता खारेज गर्दै राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि राप्रपा अघि बढेको बताए ।
अध्यक्ष लिङ्देनले मुलुकमा संघीयता आइपनि पुरै देशको निर्णयको केन्द्रविन्दु काठमाडौं रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदवाव सिर्जना गर्न सके राप्रपाको एजेण्डा पूरा हुन सक्ने तर्क गरे । अहिलेको परिवर्तनलाई सुधार नगरेसम्म देशको स्थायित्वको कल्पना गर्न नसकिने उनले जिकिर गरे ।










