
काठमाडौं । सत्ता गठबन्धनले संसदको जारी अवरोध खुलाउन नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ । प्रचण्डले भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानममन्त्री बनाउन दिल्लीसँग लबिङ गरको आशयको अभिव्यक्ति दिएपछि एमालेले आलोचना गर्दै आएको छ । प्रचण्डले असंवैधानिक र गैरराजनीतिक अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्रीबाट राजीनामाको माग गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने योजना बनाइरहेको सन्दर्भमा गठबन्धनले एमालेसँग वार्ता गर्ने निर्णय गरेको हो ।










