Logo
Logo

संसद् बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित


945
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि सोमवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गरेर विशेष कारणवश भोलिसम्मलाई बैठक स्थगित भएको जानकारी दिएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यसअघि आज (आइतवार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउन शीर्ष नेताहरूबीच सहमति भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डले गएको असार १८ गते एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसदमा अवरोध गर्दै आएको थियो । त्यस विषयमा प्रधानमन्त्रीले प्रष्टीकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो ।

यसअघि प्रधानमन्त्रीको आग्रहमा सभामुख देवराज घिमिरेले आज आइतवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस्