काठमाडौं । सांसदहरुले संसदीय समितिलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने बताएका छन् । सिंहदबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समिति बैठकका उनीहरुले समितिलाई कुनै दवाव र प्रभावविना अघि बढाउनुपर्ने र दिएका निर्देशनहरुको कार्यान्वयनमा जोड दिएका हुन् ।

बैठकमा एमाले सांसद योगेश भट्टराईले संसद चलाउने र समिति सञ्चालन गर्ने सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको आरोप लगाए । पछिल्लो ६ महिनाको अवधिमा सदन राम्रोसँग सञ्चालन हुन नसकेको र सदनलाई बिजनेश दिने कुरामा पनि सरकार जिम्मेवार नदेखिएको उनले बताए ।
उनले समिति प्रभावविहिन होस् भन्ने चाहना सरकारको देखिएको जिकिर गरे । समितिको बार्षिक क्यालेन्डर बनाएर महत्वपूर्ण बिषयको सूची बनाएरै छलफल गर्नुपर्ने र समितिले दिएका निर्देशनहरुलाई बिना सर्त कार्यान्वयन गराउने अवस्था सिर्जना गर्नुपर्ने उनले बताए । समितिका निर्देशन कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई नै समितिमा बोलाएर प्रतिवद्धता लिनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, समिति सदस्य प्रेम आलेले वाइडबडी, ट्रंक डेडिकेटेड लाइन लगाएतका बिषयमा समितिले निर्देशन दिएपनि कुनै कार्यान्वयन नभएको बताए । उनले समितिले उपसमिति बनाएर नै प्रतिवेदन तयार पारेपनि शीर्ष नेताहरु मिलेर त्यसलाई डस्टविनमा फाल्ने काम गरेको बताए । नेता आलेले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले ट्रेलर देखाएको भनेपनि फिल्म अझै सुरु हुन नसकेको तर्क गरे ।
त्यस्तै, समितिमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले समितिले दिएका निर्देशनहरु कार्यान्वयन नहुनुको कारणबारे ग्म्भीर भएर सोच्न जरुरी रहेको बताए । उनले अहिलेसम्म भएका निर्णय र कारबाहीको अवस्था पुनः अध्ययन गर्नुपर्ने धारणा राखे ।
समितिले यसअघि समितिमा परेका उजुरीहरुको बारेमा छलफल भएको थियो । समिति सदस्यहरुलाई समेत बितरण गरिएको उजुरीको विवरणमाथि आगामी बैठकमा प्राथमिकताका आधारमा छलफल हुने बताइएको छ ।










