काठमाडौं, ६ पुस ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ।
आज सकिएको स्थायी समिति बैठकले सचिवालय सदस्य समेत रहेका गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए । २१ साउनको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। जुन प्रस्ताव अनुमोदनका लागि नेकपाको स्थायी समितिमा लगिएको थियो।

स्थायी समितिले अनुमोदन गरेको यो प्रस्ताव अब केन्द्रीय समितिमा छलफलका लागि पेश गरिनेछ। केन्द्रीय समितिले समेत यो प्रस्ताव पारित गरेपछि बामदेव नेकपाको उपाध्यक्ष बन्नेछन्। नेकपामा विधान संशोनको पूर्णअधिकार केन्द्रीय समितिमा छ।
गौतम तत्काली नेकपामा एमालेमा पनि उपाध्यक्ष थिए। नेकपाको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउन लागिएको छ। महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी समितिकोे बैठकले पारित गरेको हो।
२९ मंसीरदेखि शुरू भएको स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रूपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहिहत पारित गरेको छ।












