Logo
Logo

दुई वर्षदेखि अचेत थिए सीता दाहाल


3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

उनी नेकपा माओवादी केन्द्रका सल्लाहकार समेत थिए । उनको पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म पेरिसडाँडामा राखिने छ भने २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ ।

सीता विगत २ वर्षदेखि ओछ्यानमै अचेत पल्टिरहेका थिए । उनलाई केही समययता प्रधानमन्त्री निवास बालुवाटारको एक कोठामा निजी नर्ससहित राखिएको थियो ।

नर्सले सास फेर्न गाह्रो भयो भनेपछि नर्भिकको आकस्मिक टोली पुगेर बिहान ८ बजे अस्पताल ल्याइएको थियो । तर, अस्पताल पुर्याइएको आधा घण्टामै उनको निधन भयो ।

सीतालाई प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) थियो । त्यससँगै डायबिटिज, हाइपरटेन्सन र ब्लड प्रेसर रोग थियो । सीताले दुई वर्षदेखि ‘रेस्पोन्स’ गरेका थिएनन् । उनलाई पाइपबाट खाना खुवाइन्थ्यो ।

हातखुट्टा नचल्ने भएर ओछ्यानमा पल्टिरहेका उनी बोल्न र हिँडडुल गर्न नसक्ने थिए । उनी आँखा जुधाएर हेर्न समेत सक्दैन थिए ।

को हुन् सीता ?
वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएका सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो ।

वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिए ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताएका सीताले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

पछिल्लो समय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आएका थिए । भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएका दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्