Logo
Logo

एक अर्बभन्दा बढी ठगी गर्ने समूह पक्राउ


19k
Shares

उदयपुर । एक अर्बभन्दा बढी ठगी गरेको आरोपमा सात जनालाई प्रहरीले उदयपुरको कटारीबाट पक्राउ गरेको छ । सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोहका सात सदस्यलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तराखण्ड राज्यको पौडीगढवालका ३६ वर्षीय आईटी इञ्जिनियर प्रवीण भट्ट र मोरङ विराटनगर महानगरपालिका–६ का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका–२, सिम्राहाका निरजकुमार साह, राजविराज नगरपालिका–१, डुम्रीका २५ वर्षीय डम्बर साह, गुल्मीको इस्मा गाउँपालिकाका–५ का ३२ वर्षीय ध्रुव थापा, झापाको झापा गाउँपालिका–१, बेलौतीबारीका ३१ वर्षीय बरजहान सेख र कलैया उपमहानगरपालिका–२० वसन्तपुरका २३ वर्षीय रुस्तम मन्सुरी रहेको प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुले फेसबुक, मेसेन्जर, भाइवर, हृवाट्सअपलगायत सामाजिक सञ्जाल उपयोग गर्दै विभिन्न व्यक्तिबाट एक अर्ब, नौ करोडभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धमा खुलेको छ । कटारी नगरपालिका– ४ की ३६ वर्षीय सरिता तामाङले दिएको ठगीसम्बन्धी उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा ठगीमा संलग्न ७ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक फुयालले बताए ।

उनले भने, ‘तामाङलाई गुडनेस इजरायल नामको फेसबुक म्यासेन्जरबाट सम्पर्क गरी साथी बनाई कुराकानी गर्दै प्रभोलनमा पारेर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा साथीलाई ७० हजारको अमेरिकी डलर बराबरको पार्सल पठाइदिएकाले एयरपोर्टमा उक्त सामान रोकिएको भन्दै फोटो पठाइएको थियो ।’

जतिसक्दो छिटो सामान लिन विमानस्थलको भन्सारमा कर तिर्नुपर्ने भन्दै एक लाख ३० हजारभन्दा बढी रुपैयाँ ठगेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप भई अनुसन्धान कार्य अघि बढेको प्रहरी उपरीक्षक फुयालले बताए ।

प्रतिक्रिया दिनुहोस्