काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना आफ्नो जिम्मेवारीमा सक्रियपूर्वक लागिरहेको बताएका छन् । रक्षामन्त्री खड्काले बिहीबारको राष्ट्रियसभा बैठकमा सो कुरा बताएका हुन् । उनले नेपाली सेनामा ८१ हजार २७७ जना रहेको पनि बताए ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री खड्काले ८१ हजार २७७ जना सेनामध्ये ७४ हजार ५०५ पुरुष र ६ हजार ७७२ महिला रहेको जानकारी दिए ।
‘सेना पूर्णरुपमा आफ्नो जिम्मेवारीमा सक्रियपूर्वक लागेको छ । सेनाको संख्या विपद व्यवस्थापन, निर्माण, शान्ति सेनामा लगाएका छौं’ उनले भने, ‘सामान्य ठेकेदारी प्रथामा हुन नसकेको काम सेनाबाट गराउँदै आएको छ । सेनाको उच्चतम सदुपयोग गर्दै आइरहेका छौं ।’
उनले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पनि नेपाली सेनाको भूमिका विश्वमा सम्मानित भएको बताए । संगठित, व्यवस्थित र अनुशासित संगठनको रुपमा सेनालाई लिएको उनको भनाइ छ ।
रक्षामन्त्री खड्काले मुलुकको आन्तरिक सुरक्षामा सेना जिम्मेवार भएको बताउँदै सेनालाई बंकरबाट ब्यारेक फर्काउने अभियान चलाइरहेको उल्लेख गरे । उनले सेनालाई आगामी वर्षका लागि दुई अर्ब बजेट विनियोजन गरिएको पनि बताए ।











