काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘नवीन राप्रपा’ बनाउन २१ बुँदे राजनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा एक कार्यक्रमबीच कार्ययोजना सार्वजनिक गरेका हुन् ।
राप्रपाको गत गत जेठ १ देखि ३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले ‘राप्रपा : अब नवीन राप्रपा कार्ययोजना–२०८०’ कार्यपत्र पारित गरेको थियो । उक्त कार्यपत्र अनुसार अब राप्रपाको सबै तहमा ३३ प्रतिशत महिला सुनिश्चित हुने भएको छ ।

राप्रपाले पार्टीमा युवा आकर्षण गर्न जिम्मेवारी दिने तयारी गरेको छ । अध्यक्ष लिङ्देनका अनुसार पार्टीका सबै तहमा ४० वर्षसम्मका युवा अनिवार्य सहभागिताको व्यवस्था मिलाउन लागिएको छ । राप्रपाले विभिन्न तहमा उम्मेदवार बनाउँदा अबदेखि ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाउने जनाएको छ ।
साथै, पाटीको संगठन सुदृढीकरणलाई पनि प्राथमिकतामा राखिएको बताइएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्र, प्रदेश, जिल्लास्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसमेत गरी करिब ९ सय जना नेता/कार्यकर्तालाई एकैसाथ संगठन विस्तारका लागि भूगोल केन्द्रित जिम्मेवारी दिइएको छ ।
देशभरका ७ सय ५३ वटै स्थानीय तह, ६ हजार सात सय ४३ वटै वडा र प्रवासमा समेत उक्त जिम्मेवारी तोकिइसकिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार भूगोल तोकिएका नेताहरूले राजसंस्था, हिन्दुराष्ट्र, संघीयतासम्बन्धी अवधारणालाई जनतासमक्ष पु¥याउनुपर्नेछ ।
प्रवक्ता श्रेष्ठले पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्न विशेष अभियान सञ्चालन गरेको बताउँदै भने, ‘पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालन गरिनेछ ।’ सोहीअनुरुप राप्रपाले अध्यक्ष लिङ्देनलाई धरान उपमहानगरपालिकामा खटाएको छ । तोकिएको भूगोलमा नजाने नेतालाई स्वतः पदीय जिम्मेवारीबाट मुक्त गरिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले गरेका कामकारबाही अनुगमन र समन्वयका लागि सातै प्रदेशमा संयोजक र सहसंयोजकसमेत खटाइएको राप्रपाले जनाएको छ । उनका अनुसार ६ महिनामा भूगोल केन्द्रित नेताको जिम्मेवारी फेरिने छ ।
साथै, राप्रपाले एक वर्षभित्र सक्रिय सदस्य संख्या दुई लाख पु¥याउने लक्ष्यसमेत राखेको छ ।
अध्यक्ष लिङ्देनका अनुसार ६ महिनाभित्र देशभरका एक सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम पनि गरिनेछ । विद्यार्थी संगठनलाई राजनीतिक गतिविधिमा कम र शैक्षिक गतिविधिमा बढी सक्रिय गराउने राप्रपाको लक्ष्य रहेको छ । संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेको राप्रपाले जिम्मेवारीमा रहेका सबैका लागि एकबाट ३ जना सदस्यता अभियान सञ्चालन गर्ने भएको छ ।











