काठमाडौं । नेपाली महिलालाई थाइल्याण्ड भन्दै म्यानमार पुर्याएर बन्धक बनाउने एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
मानव बेचबिखन अनुसन्धान व्युरोले चिनियाँ नागरिक ४२ वर्षीय लियाङ च्युनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई काठमाडौंको विजेश्वरीबाट पक्राउ गरिएको हो ।

लियाङ च्युन नेपालमा भिजिट, स्टुडेण्ट र बिजिनेश भिसामा बस्दै आएको पाइएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए । विभिन्न भिसामा नेपाल बस्दै आएका उनले विभिन्न व्यवसायमा लगानी गरेको प्रवक्ता पंगेनीले बताए ।
उक्त गिरोहमा हालसम्म १० जना नेपाली परिसकेको प्रहरीले जनाएको छ । उनीहरू फिरौती रकम तिरेर मात्रै नेपाल आउन सफल भएका थिए । जाहेरवाली ‘२६ बबरमहल १८९’ का अनुसार लियाङले ४–५ महिना सँगै काम गरिसकेपछि थाइल्याण्डमा कम्प्युटर टाइपिङसम्बन्धी रोजगारीमा लैजान प्रस्ताव गरेका थिए ।
उक्त गिरोहले थाइल्याण्डमा आकर्षक रोजगारी पाउने भन्दै नेपाली नागरिकलाई प्रलोभन देखाउने र म्यान्मार पुर्याउने गरेको पीडितको भनाइ छ ।
म्यानबार पुगिसकेपछि सक्कल राहदानी र मोबाइल जफत गरी बन्धक बनाउने र विभिन्न सामाजिक सञ्जालमार्फत् दिनको २० घण्टासम्म अनलाइन स्क्याम गर्न लगाई शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितको भनाइ छ ।
बन्धक बनाइएका नेपालीसँग अमेरिकी नागरिकहरूलाई नक्कली फेसबुकबाट क्रिप्टोकरेन्सी, बिट क्वाइनलगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । यो घटनामा अन्य दुई जना चिनियाँ नागरिकको संलग्नता रहेको र उनीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । चिनियाँले थाइल्याण्ड भन्दै म्यानमार पुर्याएर अनलाइन ठगीको काममा कम्तीमा १० जना नेपाली महिलालाई ठगी गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।
पक्राउ परेका लियाङलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपिएको प्रवक्ता पंगेनीले बताए । उनले गिरोहमा आबद्ध अन्य चिनियाँ नागरिकको खोजी भइरहेको बताए ।











