Logo
Logo

कसरी निर्माण गर्ने भूकम्प प्रतिरोधी भवन ?


- दृष्टि न्युज/संवाददाता



एक्काइसौ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा बुधवार पोखरामा आगोलागी र भुकम्पको समयमा विपद व्यवस्थापनको पूर्वअध्यास गर्दै । 

दुल्लु, २ माघ । २१औंँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबार दैलेखमा भूकम्प प्रतिरोधी भवन कसरी निर्माण गर्ने भन्नबारे जानकारी गराइएको छ ।
‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नारासहित भूकम्प सुरक्षा दिवस मूलसमारोह समिति दैलेखद्वारा आयोजित कार्यक्रममा भूकम्प प्रतिरोधी भवन निर्माणको प्रविधिबारे सर्वसाधारण नागरिकलाई जानकारी गराइएको हो ।
विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकका उप–कार्यकारी निर्देशक वसन्त श्रेष्ठले प्रविधिबारे जानकारी गराएका थिए । उनले भवनसंहिता र भवन निर्माण मापदण्ड, भवन निर्माण संहितामा समावेश गरिएका विषय प्रष्ट्याएका थिए ।
कार्यक्रममा उपकार्यकारी निर्देशक श्रेष्ठले भवनका प्रकार, पिलरवाला भवन बनाउँदा ध्यान दिनुपर्ने विषय र गारोवाला भवन निर्माण गर्दा ध्यान दिनुपर्ने विषय जानकारी गराएका थिए । सो अवसरमा भूकम्प, विपद् व्यवस्थापनसम्बन्धी नीति नियमावली, २०७२ वैशाखमा गएको भूकम्पबारे क्षतिबारे जानकारी दिनुका साथै नेपालमा भूकम्पको कारणबारे सर्वसाधरणलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सबैलाई आह्वान गरे । उनले सरकारले तयार पारेको घर बनाउने ५५ वटा मापदण्डअनुसार भवन निर्माण गर्नुपर्ने बताउँदै सरकारी तथा गैरसकारी कार्यालयको बजार केन्द्रित कार्यक्रम ग्रामीण बस्तीमा लैजान आग्रह गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागिएको बताउँदै उक्त योजना बनाउने जिम्मा विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकलाई दिइएको जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस्