Logo
Logo

निगमको लापरबाही : अक्सिजन अभावमै जहाज मलेसिया पुर्याइयाे


2.7k
Shares

काठमाडौं । नेपाल एयरलाइन्सको विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहानैदेखि रोकिएको छ ।

नेपाल वायुसेवा निगमका अनुसार भैरहवा हुँदै काठमाडौं आउन लागेको निगमको जहाजमा अक्सिजनको अभाव भएपछि विमान रोकिएको हो । विमान रोकिएपछि काठमाडौं आउन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन् ।

निगमले विज्ञप्ती जारी गर्दै ककपिटमा हुने सिलिन्डरमा अक्सिजन अभाव भएपछि निगमको सगरमाथा नामको न्यारोबडी मलेसियामै ग्राउडेड भएको जानकारी दिएको छ । निगमले ७ दिनदेखि काठमाडौंमा ग्राउन्डेड भएको विमानलाई आइतबार भारतीय इन्जिनियरहरू झिकाई मर्मत गरेर मलेसिया उडाएको थियो ।

विमान अभावले आइतबारको मलेसिया उडान रद्द हुँदा सयौं यात्रुलाई निगमले आफ्नै खर्चमा काठमाडौंमा होटलमा राखेर केहीलाई सोमबारको उडानमा यसै विमानबाट मलेसिया पठाएको थियो ।

यो विमान मलेसियाबाट भैरहवा हुँदै बिहान ९ बजेर ३५ मिनेटमा काठमाडौं अवतरण गर्ने तालिका थियो । तर, निगमको लापरबाहिका कारण १५२ जना यात्रु क्वालालम्पुरमै रोकिएका छन् । अक्सिजन अभावमा जहाज काठमाडौंबाट उडाइएको विषय गम्भीर भएको निगमका पाइलटहरूले बताएका छन् ।

अक्सिजन अभावका बेला जहाज उडाइनु गम्भीर लापरबाहीकाे विषय भएको एक पाइलट बताउँछन् । उनी भन्छन्, ‘अक्सिजन अभाव हुँदा ककपिटमा संकेत देखिन्छ । त्यस्तो अवस्थामा जहाज कसरी मलेसिया उड्यो ? यस्तो अवस्थामा बीचबाटै काठमाडौं फर्किनुपर्नेमा किन मलेसिया लगियो ? निगममा बारम्बार भइरहेका गम्भीर लापर्बाहीप्रति सरकार कडा रुपमा प्रस्तुत हुनुपर्छ ।’

विमान डिले भएपछि निगमले सत्यतथ्य पत्ता लगाइ कारबाही प्रक्रिया अघि बढाउन कार्यकारी अध्यक्ष युवराज अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्