
काठमाडौं । चन्दा माग्दा नदिएपछि सिनामंगलस्थित सुन पसलअगाडि शंकास्पद वस्तु राखेको खुलासा भएको छ । बुधबार बिहान ६० वर्षीय मने विश्वकर्माले सञ्चालन गर्दै आइरहेको खोटाङ हेलेसी ज्वेलर्सको सटरमुनि शङ्कास्पद वस्तु भेटिएको थियो ।
उक्त बस्तु आफूले मागेको पैसा नदिएपछि अञ्जान व्यक्तिले राखेको हुनसक्ने सञ्चालकको भनाई छ । आज मात्रै अञ्जान व्यक्तिले पैसा माग्नका लागि ९ पटक फोन गरेको ज्वेलर्सका सञ्चालकले खुलासा गरे । शंकास्पद बस्तुसँगै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ ।
सटरमा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’
अहिले त्यो क्षेत्र प्रहरीको नियन्त्रणमा छ । शङ्कास्पद वस्तु डिस्पोजलका लागि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ ।














