
काठमाडौं । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्ड यसै साताको अन्तिम दिन (शनिबार) इटाली जाने भएका छन्। इटालीको रोममा २४ देखि २६ जुलाईसम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।
दुई दिनसम्म हुने उक्त शिखर सम्मेलनमा प्रधानमनत्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल पनि जाने भएका छन्। त्यसैगरी भ्रमण दलमा प्रधानमनत्रीका स्वकीयसचिव गंगा दाहाल पनि सदस्यका रुपमा इटाली जाने भएकी छन्।
टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरु रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीले आगामी सोमबार उक्त शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसमा प्रचण्डले एलडीसी समूहको अध्यक्षको हैसियतमा खाद्य प्रणालीसहितका एजेन्डामा छलफल गर्नेछन्।
कार्यक्रमका क्रममा प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (डब्लुएफपी)का अध्यक्ष लगायत संयुक्त राष्ट्रसंघीय कार्यालयका उच्च व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
त्यस्तै प्रचण्डले गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर सम्बोधन गर कुराकानी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रचण्ड आगामी २८ जुलाईमा नेपाल फर्किने छन्।














