Logo
Logo

बञ्चरेडाँडामा फोहोर फाल्न सुरू


3.3k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न सुरू गरिएको छ । शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् ।

फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गरेर भीड पन्छाएको थियो । फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार अहिले करिब १२० वटा फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा पुगेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले स्थानीयको विरोधका बाबजुद पनि प्रहरीले बल प्रयोग गरेर फोहोर लगेको बताए । प्रहरीले स्थानीयमाथि बल प्रयोग गरेर फोहोर बोकेको गाडी बञ्चरेडाँडा लगेको स्थानीयको भनाई छ ।

स्थानीयहरूले १ साउनदेखि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न अवरोध गर्दै आइरहेका थिए । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेका कुनै पनि ल्यान्डफिल्ड साइट जान सकेका थिएनन् । बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन १ साउनदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।

दैनिक ३ सय ८० वटा ट्रक बञ्चरेडाँडा जाने गरे पनि अवरोध हुँदा काठमाडौंमा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भइसकेको थियो । २ साउनमा गएको ३० वटा फोहोर बोकेका गाडी बाटोबाटै फर्केको पछि फोहोर बोकेको गाडी काठमाडौंबाट जानै रोकिएको थियो ।

बिहीबार क्यापिङ गर्न माटो लिएर २० वटा ट्रक बञ्चरेडाँडा जाँदा भने अवरोध भएको थिएन । तर, फोहोर बोकेर जाने गाडीलाई स्थानीयले अवरोध गर्ने सूचना आएपछि शहरी विकास मन्त्रालयले शुक्रबार प्रहरीको सुरक्षाासहित फोहोरका गाडी बञ्चरेडाँडामा पठाएको हो । ५ दिनसम्म फोहोर नउठ्दा टेकु ट्रान्सफर स्टेशन भरिँदै आएको थियो भने ललितपुर महानगरपालिकाले घरभित्र फोहोर व्यवस्थापन गर्न महानगरवासीलाई सूचना पनि जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्