काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिने भन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य दोषी हुने बताएका हुन् ।

आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको दाबी गर्दै उनले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको दावी गरे । गौतमले आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रसंसा गरेको दावी गरे ।
सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको उनको भनाइ छ । उनले सुन तस्करहरुले कस्तो जालो फैलाएका रहेछन भन्ने स्पष्ट भएको बताए ।
फरक प्रसंगमा उनले समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको बताए । उनले मोर्चामा सहभागी गराएको भए समाजवादको औचित्य पुष्टि गर्ने भएपनि आफूलाई नबोलाएको जिकिर गरे ।














