काठमाडौं । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन् ।
उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको हो । योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।

यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो । अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो । राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पनि उक्त रिट दायर गरेका थिए तर उनीहरूलाई सर्वोच्चले थुनामुक्त गरेको थिएन ।
प्रहरीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्कीलाई पक्राउ गरेको छ।
काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पनि पक्राउ परेका छन्।














