काठमाडौं, ९ पुस ।
शनिबारको दिन गृह मन्त्रालयमा गृह सचिव प्रेम कुमार राई लगायत केही उच्च अधिकारी पुगेका थिए । बिदाको दिन पनि सशस्त्र प्रहरीका तीन डिआईजी समेत मन्त्रालय पुगेर सचिव राईलाई भेट्न भन्दै धर्ना दिए ।

अवकाश पाउन लागेका डिआईजीहरु डिआईजीहरु सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द धितालले नियमावली संशोधन गरेर आफ्नो जागिर लम्बाउन भन्दै राईलाई दबाब दिएका हुन् । डिआईजीको पाँच वर्षे पदावधिका कारण १६ गतेदेखि उनीहरुले अनिवार्य अवकाश पाउँदैछन् । नियमावलीमा डिआईजीको पदावधि पाँचबाट ६ वर्ष बनाएर उनीहरुले जागिर लम्बाउन खोजेका हुन् ।
यसले संगठनलाई असर पार्ने भन्दै गृह मन्त्रालयका अधिकारीहरुले प्रस्ताव अघि बढाउन मानेका छैनन् । तर, ठूला नेताहरुमार्फत नियमावली संशोधन प्रस्ताव अघि बढाउन उनीहरले गृह मन्त्रालयका अधिकारीलाई दबाब दिइरहेका छन् ।
व्यक्तिका लागि नियमावली संशोधन गर्दा गलत नजिर बस्ने र तल्लो तहका प्रहरीको करिअरमा समेत असर पर्ने भएकाले यस्तो प्रस्ताव अघि नबढाउने पक्षमा गृह मन्त्रालयका अधिकारीहरु छन् । एआईजीको दरबन्दी थपको प्रयास सफल नभएपछि उनीहरु नियमावली संधोधनतर्फ लागेका हुन् । त्यो प्रयास पनि असफल हुने देखिएको छ ।












