काठमाडौं । लोकसेवाको तयारी पुस्तकमा महिलामाथि घृणित शब्द प्रयोग गर्ने सरकारी कर्मचारी राम एकवाल दासलाई कारबाही गर्न संसदमा माग उठेको छ ।

बुधबारजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ईश्वरी घर्तीमगरले उनलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी छन् । सांसद ईश्वरीले भनिन्, ‘नेपाल सरकारको बहालबाला कर्मचारी भएर लोकसेवाको तयारी कक्षामा महिलामाथि यस्तो अपमान मात्र होइन, महाअपमान हुने शब्द राख्नु हुन्छ कि हुँदैन ? यो शब्दले आम नेपाली आमा दिदीबहिनीमा गम्भीर आघात पुर्याएको छ । उनलाई तुरुन्त निलम्बन गरेर कारबाही अगाडि बढाउन माग गर्दछु ।’
दासद्वारा लिखित पुस्तकको एउटा प्रश्न केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । ‘नेपाल वन सेवा दिग्दर्शन गेम स्काउट वनरक्षक’ विषयक पुस्तकमा उनले लेखेका छन्–
केटीलाई किन भालु भनिएको होला ?
क) पोथी भालुजस्तै व्यवहार भएर
ख) पोथी भालुले एकपल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर
ग) पोथी भालु बहुमति गामी हुन्छ
घ) माथिका सबै
यी शब्द महिलाप्रति निच र घृणित धारणा भएको भन्दै वन तथा वातावरण मन्त्रालयमा सहायक संरक्षण अधिकृतका रुपमा कार्यरत दासलाई तत्काल कारबाही गर्न माग गरिएको हो ।














