Logo
Logo

अदालतले रिहा गर्‍यो, प्रहरीले पठायो कारागार


100.7k
Shares

काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङसहित अरु कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ ‘गुण्डा नाइके’का रुपमा चिनिने सानुभाइ उर्फ युवराज गुरुङलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

पक्राउ परेपछि प्रहरीले गुरुङलाई हत्कडीसहित ठमेल घुमाएको थियो । उनलाई जिल्ला अदालत, काठमाडौंले अभद्र व्यवहारको कसूरमा १० हजार रुपैयाँ धरौटी राखेर छाड्न आदेश दिएको हो ।

१५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी अनिल अधिकारीका अनुसार अदालतले छाड्न आदेश दिएपनि उनलाई पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएकाले कारागार पठाइएको छ ।

उनीसँगै पक्राउ परेका अन्यलाई भने मंगलबार नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि एउटै कसूरमा पक्राउ परेका रघु तामाङ, विनोद तामाङ, कमल तामाङ, निरु भनिने निरज गुरुङ, विश्व तामाङ र विक्रम अधिकारी मंगलबारै छुटेका छन् । डीएसपी अधिकारीका अनुसार, सानुभाइ अभद्र व्यवहारमा पटकपटक पक्राउ परिसकेका व्यक्ति भएका उनको मुद्दा अदालतमा पेश गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्