काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सचेतक सुशिला थिङले तामाङ समुदायको संस्कृतिमाथि धावा बोल्ने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गरेका छन् ।

एउटा टेलिभिजन कार्यक्रममा पाण्डेले तामाङ समुदायमाथि दिएको अभिव्यक्तिको विषयलाई लिएर उनले कार्यक्रम प्रस्तोता र अधिवक्ता पाण्डेलाई कारबाहीको माग गरेका हुन् ।
उनले भने, ‘अधिवक्ता भगवती पाण्डेले दिएको अन्तर्वार्तामा तामाङ मगरलगायत अन्य जाति समुदायको आत्मसम्मानमा चोट पर्ने गरी जुन अभिव्यक्ति दिनुभएको छ, त्यसको घोर आपत्तिजनक भएकाले घोर भत्र्संना गर्न चाहन्छु, हाड नाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजु बहिनीबीचमै विवाह हुँदा विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधामा संलग्न हुने भन्ने अभिव्यक्तिले मेरो मनमा सुन काण्डभन्दा बढी पोलेको छ ।’
उनले यस्तो अभिव्यक्तिले आफू कति आपराधिक समुदायको माननीय भएछु भन्ने चिन्ता लागेको बताए । उनले गलत उदाहरण दिएर जाति समुदायको संस्कार संस्कृतिमाथि धावा बोल्ने जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ मर्मविपरीत भएकाले हदै सम्मको कारबाही गर्न माग गरे।














