
काठमाडौं । नेकपा माओवादी केन्द्रले गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहटमा भइरहेको आन्दोलनमा पार्टीको संम्लग्नता नरहेको बताएको छ ।
उक्त हत्याकाण्डका बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस भइरहेका बेला जिल्ला इञ्चार्ज समिर भट्टराईले एक विज्ञप्ति जारी गर्दै उक्त गतिविधिमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका हुन् ।
जिल्लाको एउटा समुहले सत्तारुढ ६ दलीय मोर्चामा बसेर केही दिन अघि माओवादी केन्द्रको ब्यानर’ सहित आन्दोलन सुरू गरेका थियो ।
‘आज भन्दा १७ बर्ष अगाडी भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिन देखी रौतहटको गौरमा भईरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, बिज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको यो आन्दोलनमा हाम्रो पार्टीको कुनै प्रकारको संलग्नता नरहेको जानकारी गराउँछु,’ उनले भनेका छन ।
‘गौर हत्याकाण्ड माओवादी आन्दोलनले शान्तिपूर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठुलो कार्यकर्ताको क्षति ब्योहोरेको अमानवीय र निन्दनीय घटना भएकाले दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ भन्ने कुरा प्रति हाम्रो पार्टी दृढ रहेको कुरा जानकारी गराउन चाहान्छौं, साथै आम जनता, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आम जनता पार्टीले गौर हत्याकाण्डको दोषीलाई कारबाही गर्न माग गर्दै साउन पहिलो साता प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रभु साहको नेतृत्वमा सो आन्दोलन भएपछि सत्तारुढ दलले त्यसको काउन्टरमा ‘प्रभु साहलाई पक्राउ गर्नुपर्ने’ भन्दै आन्दोलन सुरु गरेको थियो ।
६ दलीय सत्तारुढ गठबन्धनले गरेको साह बिरूद्दको आन्दोलनमा माओवादी केन्द्रको पनि ब्यानर राखिएपछि भट्टराईले सो आन्दोलनमा आफ्नो पार्टीको संलग्नता नभएको प्रस्टाएका हुन ।















