
काठमाडौं, १४ पुस । १ जनवरी २०२० । अंग्रेजी नयाँ वर्षको उल्लास । तर, नेपालीको लागि भने त्यो भन्दा बेग्लै उल्लासको दिन हो १ जनवरी । सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ । तदअनुसार १ जनवरी अर्थात भोली मंगलबार औपचारिक रुपमा ‘नेपाल भ्रमण वर्ष’को उद्घाटन हुँदैछ । राजधानीको दशरतरंगशालमा हुने उद्घाटनका लागि सम्पूर्ण तयारी भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
‘भ्रमण वर्ष’को उद्घाटन भव्यरुपमा गर्ने तयारी भएको छ । त्यसका लागि दिन सरकारले ५ करोड बढी खर्चदैछ । २० लाख पर्यटक भित्र्याउने गरी तयारी गरिएको ‘भ्रमण वर्ष’को उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्दैछन् । जसमा प्रधानन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु समेतको सहभागिता रहने भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सरकारले यस भ्रमण वर्ष उद्घाटन समारोहका लागि मात्र ५ करोड ३ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ । समितिले २ करोड रुपैयाँ छुट्याएकोमा त्यतिले बजेटले नपुग्ने भएपछि बजेट थप्दै ५ करोड ३ लाख ८५ हजार रुपैयाँ पु¥याइएको हो ।
कार्यक्रममा विविध साँस्कृतिक झाँकी प्रदर्शनसहित नेपाली कला, संस्कृति, भेषभूषा बाजागाजा, नित्यसँगै वृहद् साङ्लो मार्चपास गरिनेछ । साथै कार्यक्रमका लागि ड्रोनमार्फत आकाशमा राष्ट्रिय झण्डासहित ‘भ्रमण वर्ष–२०२०’को लोगो प्रर्दशन गरिने छ ।
त्यस्तै नेपाली सेनाको हेलिकटरमार्फत राष्ट्रिय झण्डा र ‘भ्रमण वर्ष’को ब्यानसहित पुष्पबृष्टि गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
‘नेपाल भ्रमण वर्ष’को औपचारिक उद्घाटन कार्यक्रममा करिब २४ हजारलाई निम्तो पठाइएको जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि स्वदेशी तथा विदेशी पाहुनासहित विशिष्ट व्यक्तित्वहरुका लागि करिब २४ हजारलाई निमन्त्रणा कार्ड पठाइएको सचिवालय सचिव बच्चुराम श्रेष्ठले जनाएका छन । जसमा स्वदेशी सरकारी तथा गैरसरकारनी संघसंस्था, मन्त्रालय, विभाग लगायत विदेशी राजदूत, मन्त्री तथा विशिष्ट पाहुना रहेका छन् ।












