
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक एवं प्रतिनिधिसभा सांसद सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रमुख सचेतक परियारले
संसदीय समितिको सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
समितिबाट नीति–नियम तर्जुमाको काम गर्नुपर्ने भन्दै उनले सभापति नहुँदा असहज भएको बताएका थिए । ‘समिति सभापति नहुँदा विधेयकमाथि प्रभावकारी छलफल हुन सकेको छैन। सभापति चयनको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु।’ सचेतक परियारले भने ।
सदन र समितिलाई प्रभावकारी बनाउन रास्वपालाई भूमिका खेल्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् । जारी सदनको अवरोध हटाउने विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले बताए।
भेटमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकका विषयमा पनि चासो राखेका थिए। प्रमुख सचेतक परियार कानुन, न्याय तथा मानव अधिकार समितिको सदस्य हुन्।














