Logo
Logo

बैंक ठगीमा युवती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ पुस । बैंक ठगीका नयाँ–नयाँ घटना बाहिर आउन थालेका छन् । कृषि विकास बैंकको न्यूरोड शाखाकी तत्कालीन कर्मचारी दिपिका रेग्मी काण्डमा सेनाका जर्नेल रमेश बिष्ट मुछिएका थिए । जर्नेलसँग मिलेर उनले ठगी गरेकी थिइन् । सोही बैंकको स्वयम्भु शाखाका कर्मचारी केदार गौतमले कान्छी श्रीमतीको योजनामा करोडौं ठगेका थिए । ठगी गरेर विदेश भाग्ने तयारीमा रहँदा उनी पक्राउ परेका थिए । हाल उनी जेलमा छन् ।

अर्काे एउटा रमाइलो बैंकिङ ठगीको घटनाको सिआईबीले छानबिन थालेको छ । यो घटना पनि सरकारी बैंकमै भएको हो । नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकभित्र अनियमितता गरेको आरोपमा आइतबार सीआईबीले पक्राउ गरेको छ । कृत्रिम निक्षेप देखाएर ब्याज लिई उनले बैंकलाई करिब ७० लाख रुपैयाँ ठगी गरेका हुन् । यो प्रकरणमा उनी तीन महिनाअघि नै निलम्बनमा परिसकेका थिए ।

अनुसन्धानको क्रममा यो घटनामा पनि एक युवतीसमेत जोडिएकी छिन् । सोही बैंककै कर्मचारी सदीक्षा कार्कीको समेत संलग्नता खुलेको हो । उनी भने फरार छिन् । बैंकमा जागिर खाएको केही महिनामै उनले त्यस्तो अनियमितता गरेको स्रोत बताउँछ । प्रहरीले बैंकिङ कसुरमा एक हजार भन्दा धेरैलाई मुद्दा दायर गरिसकेको छ । तर, पनि यसरी अनियमितता गर्ने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्