
काठमाडौं । सरकारले पहुँच र शक्तिको आडमा सिंहदरबार वरीपरीका कार्यालयमा मात्रै कार्यरत १४ उपसचिवसहित २२ कर्मचारीको सरुवा गरेको छ ।
सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले तीन बर्ष बढी अवधि भएका १४ उपसचिव र ८ अधिकृतलाई दुर्गमका स्थानीय तहमा खटाएका हुन् । मन्त्री मोदी पदभार सम्हालेदेखि नै प्रशासनिक र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा अग्रसर छन् ।
प्रशासनिक सुधारका क्षेत्रमा दर्जनौं दूरगामी निर्णय गर्दै आएका मन्त्री मोदीले सरुवाको विद्यमान विकृति हटाउनका लागि आवश्यक सुझाव दिन भन्दै २०८० जेठ २९ गते सरुवा व्यवस्थापन कार्यदल गठन गरेका थिए । मन्त्री मोदीले सो कार्यदलले बुझाएको प्रतिवेदनमा समाविष्ट सुझाव कार्यान्वयन गर्न थालेका छन्।
कार्यदलको सुझावअनुसार नै मन्त्री मोदीको निर्देशनमा मन्त्रालयले हालै मात्र दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेकालाई सुगमको कार्यालय रोजेर र सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रको कार्यालय रोजेर निवेदन दिन आह्वान गरेको थियो ।
यससँगै मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई दुर्गम क्षेत्रमा खटाउन थालेको छ । जसअनुसार मन्त्रालयले बुधबार १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गतका कार्यलयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटामा सरुवा गरेको छ । त्यस्तै गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडीमा सरुवा भएको छ ।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ ।
यस्तै सिंहदरबार वरीपरीका ८ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ । गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशील कुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य ३ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनीचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य २ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।
















