काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने कार्य आपत्तिपूर्ण रहेको बताएका छन् ।
पशु सेवा विभागले बुधबार राखेको बार्षिक समीक्षा गोष्ठिमा बोल्दै मन्त्री भुसालले शून्य बजेट भएको कारण देखाउँदै जनतालाई दिने सेवा बन्द गरेको सूचना आएको भन्दै त्यस्तो कार्य गर्ने विषय आपत्तिपूर्ण रहेको बताएका हुन् । मन्त्री भुसालले भने, ‘कतिपय कार्यालयले कलम र कागज किन्ने पैसा छैन भन्दै सेवा नै बन्द गरेछन् । यहाँभन्दा गैरजिम्मेवारीपन अर्को हुन सक्दैन ।’

शून्य बजेटलाई खुलाउने प्रयास भइरहेको भन्दै यसमा थप चिन्तित नहुन आग्रह गरे । जनताको सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिदँै मन्त्री भुसालले समस्या राख्नेमात्र नभई समाधानको उपायसमेत खोज्नुपर्नेमा जोड दिए ।
‘समस्या देखियो, यसलाई मात्र हेर्नु भएन । समाधानको उपाय पनि खोज्नुपर्छ । सरकारी कर्मचारीलाई सेवा नै बन्द गर्ने छुट हुन्छ ? शून्य बजेट भयो भन्दैमा सरकारी जागीर नै खोसिएको हो ?’
जनतालाई दिदैँ आएको सेवालाई बन्द नगर्न पटक पटक आग्रह गरेका मन्त्री भुसालले सेवा बन्द गर्ने कर्मचारीलाई कारबाही हुने चेतावनी दिएका छन् । कुन कार्यालयले सेवा बन्द गरेको हो, त्यसको यथार्थ विवरण पेश गर्न पशु सेवा विभागलाई मन्त्री भुसालले निर्देशन दिएका छन् ।
साथै, मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित भएका किसानलाई राहत दिने तयारी भइरहेको बताए । प्रधानमन्त्रीसँग यस विषयमा कुराकानी भएको र राहत दिने आधार, मापदण्ड र प्रक्रिया के कस्तो हुने तत्कालै पशु सेवा विभागलाई गृहकार्य गर्न निर्देशन दिए ।
विभागले यसलाई जतिसक्दो चाँडो काम गर्न निर्देशन दिदैँ मन्त्री भुसालले भ्याक्सिन खरिद प्रक्रियाको काम अबको एक हप्ताभित्र सक्नुपर्नेमा जोड दिए । भ्यासिन खरिद गरेलगत्तै गाउँ गाउँमा पुगेर पशुको उपचार हुने उनले बताए ।
लम्पी स्किन रोग नियन्त्रणमा पशु सेवा विभाग नै बढी लाग्नुपर्ने भन्दै आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्ने मन्त्री भुसालले आश्वस्त पारे । अरु काम छाडेर भएपनि तत्कालै लम्पी स्किन रोग नियन्त्रणमा लाग्न उनको आग्रह थियो । मन्त्री भुसालले पशु स्वास्थ्यको महत्व बुझाउन अझै नसकिएको बताए । मानव स्वास्थ्यसँग पशु स्वास्थ्य जोडिएको भन्दै यसको महत्व बुझाउनुपर्नेमा मन्त्री भुसालको जोड छ ।
‘पशु स्वास्थ्यको महत्व मानव स्वास्थ्यसँग जोडिन्छ । यो विषयमा पाठ्यक्रमनै तयार पारेर विश्व विद्यालयमा दिउँँ । पशु सेवा विभागले यस विषयमा प्रभावकारी अभियान चलाओस् । आवश्यकता र सम्भावना पहिल्याएर अगाडि बढ्न जरुरी छ’ उनले भने ।
अनुत्पादक क्षेत्रमा लगानी गर्ने तर कृषि र पशुपन्छीको क्षेत्र प्राथमिकतामा नपर्ने गरेको समेत उनले सुनाए । ‘हामीले पानी जहाजका कुरा ग¥यौँ । देशमा यो आवश्यक विषय थियो त ? गाउँ गाउँमा एयरपोर्ट बनाएका र्छौँ, यसबाट कुनै प्रतिफल आएको छ ?’ भुसालले भने, ‘यता लगाएको लगानी कृषि र पशुपालनको क्षेत्रमा लगाएको भए आज मुलुक आत्मनिर्भर हुने थियो ।’
कुनैपनि काम गर्दा वास्तविकतामा टेकेर गर्नुपर्नेमा मन्त्री भुसालको जोड छ । समस्याको समाधान गहिराईमा गएर मात्र हुन सक्ने उनले बुझाइ छ ।














