Logo
Logo

महासंघले पहिचान सुनिश्चिताका लागि आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने


882
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले पहिचान र अधिकार सुनिश्चिताका लागि जनजाती आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने भएको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान सिपको प्रवद्र्धन गर्दै पूख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गर्रौ भन्ने मूल नाराका साथ साउन २४ गते २९औं विश्व आदिवासी दिवस मनाउने जनाएको हो । यस बर्ष संयुक्त राष्ट्रसंघको मूलनारा भने आत्म निर्णयका लागि परिर्वतनका सम्वाहक आदिवासी युवा भन्ने रहेको छ ।

दिवसका अवसरमा विभिन्न जातीय समुदायहरूको झाँकी तथा ¥याली प्रदर्शन गरिने, फुड फेस्टिभलहरू आयोजना गरिने एवं विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने महासंघका महासचिव दिवस राईले जानकारी दिए । दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने उनले बताए ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले कोशी प्रदेशमा पहिचानको मुद्धाका लागि आन्दोलन गरिएको र अहिलेसम्मको अवस्थामा आन्दोलन सफल भएको महशुस गरिएको बताए । उनले पहिचानको मुद्दामा महासंघ अग्रमोर्चामा उभिने उल्लेख गरे ।

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्