काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरणमा मुछिएका पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरामाथि छानबिन हुनुपर्ने माग उठेको छ । बैठकमा महराको नाम सुन प्रकरणमा मुछिएकाले उपस्थित केही केन्द्रीय सदस्यले छानबिन हुनुपर्ने माग राखेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन्।
विद्युतीय चुरोट ‘भेप’भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा जोडिएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो )सिआइबी)ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको भेप लिलामी गर्न दबाब दिएका थिए ।
सिआइबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ।
प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर)बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो । प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उनीहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ ।
यता महराले भने सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । उनले यस सम्बन्धमा आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन्।














