Logo
Logo

फोनिजद्वारा एक मातृभाषा संचार संस्था र पाँच पत्रकार सम्मानित तथा पुरस्कृत हुँदै


819
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित तथा पुरस्कृत व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको छ ।

फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ बाट सरोकार टेलिभिजनका दिलीप थापा मगर (काठमाडौं) र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मानित हुने भएका छन् ।

त्यसैगरी, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व. किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली)लाई पुरस्कृत गर्ने निर्णय भएको महासचिव लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फोनिजले निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोगत्वमा सल्लाहकार द्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सरदस्य रहेको ‘सम्मान तथा पुरस्कार छनोट समिति’ गठन गरेको थियो । समितिको सिफारिसमा फोनिजले एक मातृभाषा संचार संस्था र पाँच जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको छ ।

फोनिजका अनुसार २७ साउन २०८० मा प्रदेश १ को विराटनगरमा आयोजित २४औँ स्थापना दिवस मूल समारोहमार्फत सम्मान तथा पुरस्कार वितरण गरिनेछ । फोनिजले स्थापना दिवसको अवसर पारेर २८ साउनमा विराटनगरमै कोशी प्रदेश नामकरणविरुद्ध भइरहेको आन्दोलन र त्यसको निकासबारे ‘पहिचान आन्दोलनः अबको बाटो’ विषय अन्तरक्रिया आयोजना गर्न लागेको छ ।

अन्तरक्रियामा राजनीतिक विश्लेषक प्रा.डा. महेन्द्र लावती, राजनीतिक विश्लेषक डम्बर खतिवडा, लेखक/विश्लेषक खगेन्द्र संग्रौला र लेखक/विश्लेषक भवानी बराल वक्ताको रुपमा सहभागी हुँदै छन् । ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्राप्त गर्नुहुने व्यक्ति र संस्थाहरुको संक्षिप्त जीवनी तथा विवरण निम्नानुसार रहेको छ ।

१. दिलीप थापा मगर, काठमाडौं (फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०) २०५८ सालमा नेपाल टेलिभिजनबाट पत्रकारिता सुरुवात गर्नु भएका दिलीप थापामगर नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो । नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको रूपमा नेपाली पत्रकारलाई नेतृत्व प्रदान गरिसक्नु भएका थापा आफैले पाँच वर्षदेखि सरोकार टेलिभिजन सञ्चालन गर्दै आउनु भएको छ ।

न्यूज एजेन्सी हिमालयन टेलिभोइसका अध्यक्षसमेत रहनु भएका थापाले जनजाति आवाज, अमेरिका नेपाल टेलिभिजन लगायतमा काम गरिसक्नु भएको छ । जनसेवा श्री पदक, राष्ट्रिय पत्रकारिता पुरस्कार र प्रधानसेनापति प्रशंसा पदकसमेत पाइसक्नु भएका पत्रकार थापालाई यस वर्ष ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ प्रदान गर्ने निर्णय गरिएको हो ।

२. नेपालभाषा टाइम्स दैनिक, काठमाडौं (फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०) ‘नेपालभाषा टाइम्स’ हाल नेपालभाषामा प्रकाशन हुने एक मात्र दैनिक पत्रिका हो । निरन्तर प्रकाशन हुँदै आएको यो पत्रिकाको इतिहास वि.सं. २०४६ सालबाट सुरु हुन्छ ।

नेपालभाषामा पहिलो दैनिक पत्रिकाका रूपमा वि.सं. २०१२ सालमा फत्तेबहादुर सिंहको सम्पादनमा ‘नेपालभाषा पत्रिका’ प्रकाशन भएको थियो । त्यसको केही समयपछि कृष्णचन्द्रसिंह प्रधानको सम्पादनमा ‘पासा’ दैनिक प्रकाशन भएको थियो । यी दुवै पत्रिका बन्द भएको धेरै समयपछि वि.सं. २०४६ सालमा अशोक श्रेष्ठको सम्पादनमा नेपालभाषाको अर्को दैनिक ‘विश्वभूमि’ प्रकाशन सुरु भयो ।

त्यही विश्वभूमि दैनिक बिचमा नाम बदलेर ‘सन्ध्या टाइम्स दैनिक’ बन्यो भने गत नौ वर्षदेखि ‘सन्ध्या टाइम्स दैनिक’ पनि नाम बदलेर अहिले ‘नेपालभाषा टाइम्स दैनिक’का रूपमा प्रकाशित हुँदै आएको छ । यसर्थ ३२ वर्षदेखि मातृभाषामा प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’लाई मातृभाषा पत्रकारितामा पुर्‍याएको योगदानको सम्मान गर्दै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट सम्मान गर्ने निर्णय गरिएको छ ।

३. स्व. किसन राई (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०, मरणोपरान्त) किसन राईको जन्म बुवा छोक्टुन्डु राई र आमा शिवमाया राईको जेठो सन्तानका रूपमा २०२४ साल भदौमा भारतीय गोर्खा पल्टनको बैंङ्ग्लोरस्थित क्याम्पमा भएको थियो । २०४३ देखि वामपन्थी विद्यार्थी राजनीतिमा प्रवेश गरेर २०४६ सालको जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी राईले लामो समय राजनीतिक जीवन बिताउनुभयो ।

२०५६ सालमा हङकङ प्रस्थान गर्नु भएका राईले त्यसपछिको समयमा हङकङमै रहेर पत्रकारिता, समाजसेवा र राजनीतिलाई अगाडि बढाउनु भयो ।

हङकङमा नेपाली पत्रिका एभरेष्टको सम्पादक तथा प्रकाशक भएर दुई दशकभन्दा बढी समय बिताउनु भएका राईले नेपाल पत्रकार संघ हङकङको अध्यक्ष, आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष, नेपाली साहित्य परिषद हङकङको अध्यक्ष, अन्तर्राष्ट्रिय जनजाति समन्वय समितिका सदस्य एवं संस्थापक, एनआरएनका केन्द्रीय सदस्य एवं आईसीसी, गोर्खा सिमेन्ट्री ट्रस्टको सल्लाहकार, च्याम्वर अफ कमर्स हङकङको सल्लाहकार, साझा साहित्य शृङ्खलाका सल्लाहकार, धरान हङकङ मञ्चका सल्लाहकार एवं संस्थापक, नेपाली समाज हङकङको संस्थापक सदस्य, उपाध्यक्ष र सल्लाहकार, किराँत राई यायोक्खा हङकङको अध्यक्ष र सल्लाहकारका रूपमा पत्रकारिता र समाज सेवामा योगदान पु¥याउनु भयो ।

दुई दशकभन्दा लामो समय हङकङको नेपाली भाषा तथा साहित्य र पत्रकारिता क्षेत्रमा अथक रूपमा काम गरेका उनलाई नेपाल सरकारले जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो । त्यसै गरी, हङकङ सरकारले सन् २०२० मा नेपाली समुदायमा पु¥याएको योगदान बापत ‘चीफ एक्जीक्यूटिव कमेन्डेसन फर कम्युनीटी सर्भिस’ पदकले सम्मान गरेको थियो ।

यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत पाइसक्नु भएका राईको २०७८ कार्तिक ०७ गते खोटाङमा निधन भएको थियो । जीवनकाल पत्रकारिता र समाज सेवामा अर्पण गर्नु भएका स्वर्गीय किसन राईको योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ (मरणोपरान्त) अपूर्ण गर्ने निर्णय गरियो ।

४. देवबहादुर पचभैया मगर, पाल्पा (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०) २०५६ सालदेखि पत्रकारितामा क्रियाशील पाल्पाका देवबहादुर पचभैया मगर पत्रकारितामा स्थापित नाम हो । उहाँ दुई दशकदेखि पाल्पाको श्रीनगर एफ. एमका स्टेसन म्यानेजर र श्रीनगर खबर पत्रिकामा सम्पादकको रूपमा काम गर्दै आउनु भएको छ ।

तत्कालीन नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) पाल्पाका संस्थापक अध्यक्ष हुँदै २ कार्यकाल जिल्ला अध्यक्ष, फोनिज भएपछि पश्चिमाञ्चल इन्चार्ज र फोनिज लुम्बिनी प्रदेश इन्चार्जको रूपमा आदिवासी जनजाति पत्रकारलाई नेतृत्व प्रदान गरिसक्नु भएको छ । यहाँ हाल मगर पत्रकार संघको महासचिवसमेत हुनुन्छ । छापासँगै रेडियो पत्रकारितामा संलग्न भई राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार संस्थामा काम गरिसक्नु भएका मगरलाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गर्ने निर्णय गरिएको छ ।

५. जीवन लामा, दोलखा (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०) २०६२ सालदेखि कालिन्चोक सन्देश साप्ताहिकबाट पत्रकारिता सुरु गर्नु भएका जीवन लामा दोलखाका स्थापित पत्रकार हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्व केन्द्रीय समिति सदस्यसमेत रहनु भएका लामा नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष हुन् ।

हाल कालिन्चोक सन्देशका कार्यकारी सम्पादक रहनु भएका लामा २०६४ सालदेखि हालसम्म कालिन्चोक एफ.एममा स्टेसन मेनेजरका रूपमा काम गरिरहनु भएको छ । चरिकोट मिडिया फाउन्डेसनका अध्यक्ष समेत रहनु भएका लामाले इ–दैनिकखबर डटकमको अध्यक्ष तथा प्रकाशकको जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ । पत्रकारिता सँगसँगै सामाजिक क्षेत्रमा समेत क्रियाशील लामालाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गर्ने निर्णय गरिएको हो ।

६. उन्नति चौधरी, कैलाली (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०) २०६३ सालमा कैलालीबाट प्रकाशित हुने ‘सेती महाकाली आवाज’ पत्रिकाको वितरकको रूपमा काम थाल्नु भएका उन्नति चौधरीले सोही पत्रिकामा सम्वाददाताको रूपमा काम गर्दै पत्रकारिता सुरुवात गर्नु भएको हो ।

पत्रकारिताको दौरान जनदिशा राष्ट्रिय दैनिक, लालदिशा मासिक, मर्निङवेल दैनिक, पश्चिमेली दैनिक, हिमालखबर डटकम लगायतमा काम गरिसक्नु भएका चौधरीले हाल नेपाली र थारु भाषामा केर्नीन्यूज डटकम सञ्चालन गर्दै आउनु भएको छ । पत्रकारितासँगै विभिन्न सामाजिक संघ संस्थाहरूमा समेत काम गर्दै आउनु भएका चौधरीलाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्