काठमाडौं, १८ पुस ।
केही दिन राजधानीसहित देशैभरी चिसो बढ्ने भएको छ ।
आजदेखि आइतबारसम्म देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना छ।

केही दिनअघि नेपाल भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि दिनभर नै देशैभरको मौसम बदली हुने छ।
मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आज वर्षा हुनेछ।
‘उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको पनि सम्भावना छ,’ मानन्धरले नेपालखबरसँग भनिन्, ‘काठमाडौँमा आज हिजो भन्दा ठूलो पानी पर्ने सम्भावना छ। पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना छ।’
बिहीबार काठमाडौँमा शून्य दशमलव २ मिलिलिटर वर्षा भएको थियो। हिजो डढेलधुरामा ३ दशमलव ६ मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ।
अहिले पूर्वी भेग बाहेक देशका सबै क्षेत्रमा बदली छ। घाम लागेको छैन। घाम नलाग्दा चिसो बढेको छ। शनिबारबाट भने मौसममा सुधार हुँदै जाने उनले बताइन्।












