
काठमाडौं, १८ पुस । तुवाँलो र वर्षातसँगै उड्डयन क्षेत्र प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिकरुपमा प्रभावित भएको हो । अन्तर्राष्ट्रिय उडानमा खासै समस्या नरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिएका छन् ।
सामान्य तुवालोसहित भएको वर्षातले भिजिविलिटी कम हुँदा शुत्रबार बिहानैदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा केही समस्या भएको छ । यन्त्रको सहायताबाट विमानचालकले हेर्ने दृश्य अर्थात् इन्टुमेन्ट फ्लाइट रुल्स९आइएफआर० प्रविधिको सहायताले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलले जनाएको छ ।
आन्तरिक उडान खासगरी पहाडी क्षेत्रको प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको तथा पहाडी क्षेत्रमा पनि जहाजले उचाइ लिन नसक्ने भएका कारण उडान प्रभावित भएको छ । विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । शुक्रबार केही विमान अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्न नसक्दा डाइभर्ट भएका छन् । विराटनर र पोखरामामा समेत बाक्लो तुवाँलोका कारण उडान प्रभावित बनेको जनाइएको छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बद्ली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।












