
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने निर्णय खारेज गर्न सरोकारवालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
प्राधिकरणले मौसमको कारण देखाउँदै कर्णालीसहित दुर्गम भेगका विमानस्थलमा दिउँसो १२ बजेपछि उडान अनुमति नदिने निर्णय गरेको थियाे । यसले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको गुनासो व्यवसायीको छ ।
जहाज कुर्दा हुम्लामा हाल सम्म २ जना बिरामीको ज्यानसमेत गइसकेको भन्दै उनीहरुले ‘अपरेशन आवर’ निर्णयलाई खारेज गरि स्थिति सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।
कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागि कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका हुन् ।
समाजले निर्णय कार्यन्वयन भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको थियो ।














