Logo
Logo

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारको नीति’


378
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् ।

देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताए ।

आन्तरिक उत्पादन बढाउनका लागि संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उहाँले यसबाट कोही पनि आतङ्कित नहुन आग्रह गरे ।

‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो रु के सधैँ आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो रु ’ उनले प्रश्न गरे।

चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास रहेको छ ।

गत वर्ष विविध कारणले लक्ष्य पूरा नभएपनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनको भनाइ छ ।

अर्थमन्त्री महतले भने, ‘कर तिर्नेको सङ्ख्या थोरै छ, कर तिर्नुपर्नेको सङ्ख्या धेरै छ । उनीहरूले कर तिर्न पनि सक्छन्‌ । उनीहरूलाई करको दायरामा ल्याउनुपर्छ ।’

‘निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्नु हुँदैन, अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ । बिस्तारै ब्याज घटिरहेको छ,’ अर्थमन्त्री महतले भने, सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैँ नकारात्मक भन्नु हुँदैन । हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ । यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ ।’

अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्तमात्र भएको तर अब बैंकमा पर्याप्त तरलता रहेको, विस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने उनको विश्वास छ।

अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउनका लागि सबैले सकारात्मक कुराको सञ्चार गर्नुपर्नेमा उनको जोड थियो ।

‘पैसा बजारमा जति पनि छ तर सबै मिलेर खत्तम भयो भन्ने भाष्यको प्रचार बढी भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराइरहेको छ। त्यसैले निजी क्षेत्र यसमा सकारात्मक हुनुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्