Logo
Logo

कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण


441
Shares

काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजले कर्णालीको हवाई समस्या समाधान गरी पर्यटन विकासका लागि सरकारको ध्यानाकार्षण गराएको छ । समाजले आज यहाँ पत्रकार सम्मेलन गरी १० बुँदे मागसमेत सार्वजनिक गरेको हो ।

कोरोना महामारीपछि बन्द रहेको हिल्सा नाका खुलाउनुपर्ने, हिल्सा नाकाबाट कैलाश मानशरोवर दर्शन गर्न जाने विदेशी पर्यटकलाई हिल्सा हुँदै चीन जानका लागि चीन सरकारसँग कूटनीतिक पहल गर्नुपर्नेलगायत माग अघि सारिएको समाजले विज्ञप्तीमार्फत जनाएको छ ।

कर्णालीका जनतासँग हवाई उडानबाहेक ‘कनेक्टिभिटी’को अन्य कुनै विकल्प नभएको अवस्थामा हवाई टिकटमा सरकारले लगाएको भ्याटका कारण त्यहाँका जनता मारमा परेको दाबी गरिएको छ ।

‘कर्णालीका नागरिकहरु जसको हवाई उडानबाहेक विकल्प नभएकाले उनीहरु बिरामी हँुदा तथा खाद्यान्न सामग्रीलगायतका ढुवानीमा पनि १३ प्रतिशत कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था तुरुन्त फिर्ता गर्न जरुरी छ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कर्णालीलगायत दुर्गम क्षेत्रमा लगाएको हवाई प्रतिबन्ध फुकुवा हुनुमा कर्णाली पर्यटन उद्यमी समाजको योगदान रहेको अध्यक्ष देवीकृष्ण रोकायाले बताए ।

‘कर्णालीका दुर्गम जिल्लामा हवाई उडान दिउँसो १२ बजेपछि बन्द गरेकामा उक्त नियम पुरानै अवस्थामा फर्काइनुपर्छ भनेर हामीले सरोकारवाला निकायसँग छलफल गरी दबाब दिएका थियौँ’ उनले भने, ‘क्यानले अहिले प्रतिबन्ध हटाएको छ ।’ उनले कर्णालीको पर्यटन विकासका लागि हवाई उडान क्षेत्र सुधारको आवश्यकतासमेत औँल्याए ।

प्रतिक्रिया दिनुहोस्