
बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद् अवरोधको कारण एमाले नभई सरकार र गठबन्धन नै भएको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आज शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचेतक बर्तौलाले एमालेले संसद् अवरोध नगरेको बताएका हुन् ।
उनले एमालेले संसद्मा सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग मात्र उठाएको दाबी गरे । उनले सरकारले जनताबाट चुनिएका सांसदले उठाएका मागको जवाफ दिनु साटो गैरजिम्मेवार बनेर प्रतिपक्षले संसद अवरुद्ध गर्यो भनेर भ्रम फैलाएको टिप्पणी गरे ।
सचेतक बर्तौलाले संसद् चलाउन संविधानले चिन्दै नचिनेको गठबन्धनमा गएर निर्णय गराउनु साटो संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिन सरकारलाई आग्रह गरे । सचेतक बर्तौलाले एमाले संसद्को गतिरोध खुलाउन सकारात्मक भए पनि सुनकाण्डको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म निरन्तर खबरदारी गर्ने बताए ।














