काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुंगो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरू चलखेलमा लागेको बताएका छन् । उनले विश्वासको मत दिने सांसदलाई १० करोड रुपैयाँ र मन्त्री पदको लोभ देखाइएको आरोप लगाएका छन् ।

अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त ।’ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते प्रदेशसभामा विश्वासको मत लिने तय भएको छ ।














