
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसँग भोलि छलफल गर्ने भएको छ ।
आज बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध परेका उजुरीमा बिहान १० बजेदेखि छलफल गर्ने त्यसलगत्तै ११ बजेदेखि उनीसँग छलफल गर्ने निर्णय गरेको हो ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराका अनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत् एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र छलफल गर्ने समितिको तयारी छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।
गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
२३ साउनमा बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।














