Logo
Logo

सिजीका विश्वभरका होटलमा नेपाली झण्डा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ पुस । नेपालका उद्योपति विनोद चौधरीको सिजी ग्रुप अन्र्तगत सञ्चालित संसारभरका होटलहरुमा नेपालको झण्डा पहराइएको छ ।
अर्बपति चौधरीका गैरआवासीय छोराहरुले सञ्चालन गरिरहेको सीजी कर्प ग्लोबलले यूएईमा पाँचतारे होटल स्थापना गरेसँगै त्यहाँ नेपालको राष्ट्रिय झन्डा पनि फहराएका छन् । यससँगै विश्वका ख्यातिप्राप्त मिडियाहरूले भनेका छन्, ‘ताज जुमिरा लेक टावर्समा लोभलाग्दो राष्ट्रिय गौरव प्रदर्शन भइरहेको छ, जसको प्रतिनिधित्व रातो रंगमा सजिएको चन्द्र र सूर्यअंकित नेपालको राष्ट्रिय झन्डाले गरिरहेको छ । विश्वभरका मानिसको गन्तव्य रहने यस होटलमा यो झन्डा सधैं फहराइरहनेछ ।’
होटल उद्घाटनको माहोल विल्कुलै फरक थियो । यस होटलमा शुरुमा यूएईको झन्डा फहराइयो । भारतीय प्रख्यात ब्रान्ड ताजले आफ्नो देशको गौरवका लागि भारतीय झन्डा फहरायो । त्यतिबेला नेपाली अर्बपति विनोद चौधरीको मनमा गढ्यो– त्यसो भए यो होटलमा नेपाली राष्ट्रिय झन्डा किन नफहराउने ? जबकि यसका मुख्य लगानीकर्ता नेपाली छोरा हुन् ।
विश्वव्यापी होटल विस्तार गरिरहेका उनका छोरा राहुल चौधरीको निमन्त्रणा स्वीकार गरी विनोद होटल उद्घाटनका विशिष्ठ पाहुना बनेका थिए । विनोदको चाहना पूरा हुन कत्ति पनि समय लागेन । होटलको उद्घाटन नेपाली झन्डा फहराएरै भयो । र, विश्वमा नेपालको पहिचान सगरमाथा, गौतम बुद्ध वा वीर गोर्खाका कारण मात्रै होइन वल्र्डक्लास कर्पोरेटबाट पनि हुन सक्छ भन्ने सन्देश दिन सम्भव भयो ।
दुबईको ‘ताज जुमिरा लेक टावर्स’ विश्वको एकमात्र त्यस्तो पाँचतारे होटल हो, जसमा नेपालको राष्ट्रिय झन्डा फहराउँछ । सीजी कर्प ग्लोबलले भनेको ‘अब सीजी हस्पिटालिटीले विश्वका जुनकुनै मुलुकमा स्थापना गर्ने होटलमा चन्द्र र सूर्य अंकित झन्डा फहराउनेछ ।’ यसको घोषणा विनोद स्वयंले पोखरा पुगेर गरेका थिए । नेपाल साहित्य महोत्सवको आठौं शृंखलामा वक्ता बनेका विनोदले यस्तो उद्घोष गरेका थिए । दुबईबाहेक कजाकस्तानमा स्थापित वाईवाईको प्लान्टमा पनि उनले नेपालको झन्डा फहराइसकेका छन् ।
‘नेपाललाई विश्व बजारमा स्थापित गर्ने हाम्रो प्रयासलाई यसले ठूलो आडभरोसा दिन्छ । कुनै पनि समृद्ध मुलुकको आलिशान होटलमा नेपालको झन्डा फहराएको देख्दा नेपालीको मन गर्वले कसरी फुल्छ, मैले त्यो अनुभूत गरेको छु’ विनोद भन्छन्, ‘विश्वभर खुल्ने हाम्रा होटलमा यस्ता दृश्य अब सधैं देखिनेछन् ।’
ताज जुमिरा लेक टावर्स’मा लगानी गरेसँगै सीजी हस्पिटालिटीले मध्यपूर्व, युरोप र अफ्रिकी बजारलाई केन्द्रमा राखेर लगानी अगाडि अगाडि बढाएको छ । उनले उक्त होटल शताब्दी पुरानो भारतीय पुरातात्विक महत्व र त्यसको विरासतलाई समकालीन विश्वव्यापी सेवा र सुविधासँग जोड्ने बताए ।
सीजी कर्प ग्लोबलले भनेको छ, ‘सीजी हस्पिटालिटीले यूएईमा विलासी होटल स्थापनामात्रै गरेको छैन, व्यावसायिक मूल्य र मान्यतालाई पनि उत्तिकै मजबुत खम्बाका रूपमा ठड्याएको छ । यो होटलले यो क्षेत्रको ‘बिजनेस लग्जरी’लाई नयाँ उचाइमा पु¥याउनेछ ।’
काठमाडौंमा मुकाम रहेको सीजी ‘सीजी कर्प ग्लोबल’ले विश्वका २० मुलुकमा आफ्नो व्यावसायिक उपस्थिति जनाइसकेको छ । पुस्तौंदेखिको साखलाई विश्वभर स्थापित गर्न समूहले आक्रामक बजार विस्तार गरिरहेको छ ।
चौधरी ग्रुपलाई ‘फोब्र्स’ले नेपालको एकमात्र अर्ब डलरको कम्पनी भनेर सूचीकृत गरेको छ । सन् २००१ मा सीजी कर्प ग्लोबलले श्रीलंकाको ताज समुद्र र माल्दिभ्सका अन्य दुई ताज होटलमा लगानी गरेपछि सीजी हस्पिटालिटीको विधिवत् यात्रा शुरु भएको हो ।
पिताको व्यावसायिक विरासतलाई कायम राख्दै छोरा राहुल चौधरीले सन् २००६ देखि सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटीको जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आएका छन् । सीजी कर्प ग्लोबलले १३ वर्षको अवधिमा हस्पिटालिटी क्षेत्रको विस्तार ११ मुलुकमा ४,३०० प्रतिशतले बृद्धि गरेको छ । उसले विश्वका ११ मुलुक र ८७ गन्तव्यमा १३० होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । तिनमा ६,५०७ कोठा उपलब्ध छन् । राहुलले यि सबै होटलको व्यवस्थापन हेर्छन् । सीजी कर्प ग्लोबल निकट भविष्यमै २०० होटल सञ्चालनको लक्ष्य भेटाउने योजना कार्यान्वयनमा प्रतिवद्ध छ ।

प्रतिक्रिया दिनुहोस्