काठमाडौं । संसद् खुलाउने विषयमा बस्ने भनिएको शीर्ष नेताहरूको बैठक आज नबस्ने भएको छ ।
आज बस्ने भनिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बैठक नबसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन र संसद्को अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो तीन दलका शीर्ष नेताहरू बसेर टुंग्याउने तयारी थियो । तर ओली नआएपछि आजको बैठक बस्न नसकेको हो ।
सोमबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो । उक्त सहमति पछि आजदेखि संसद् अवरोध खुल्ने विश्वास गरिएको थियो । तर, शीर्ष नेताहरूको बैठक बस्न नसक्दा आज पनि संसद् नचल्ने भएको छ ।
आजै बिहान राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो ।
६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले गत पुष १० गतेबाट संसद् अवरुद्ध गर्दै आएको छ ।














