
काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच आजसम्म भएका सबै सुन तस्करीहरुको छानविन गर्न आयोग गठन गर्ने सहमति भएको छ । सहमतिसँगै एमालेले अवरोध गर्दै आइरहेको संसद सुचारु हुने भएको छ ।
बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता रमेश लेखकले भने, ‘जाँचबुझ आयोग ऐन–२०२६ अनुरुप आजसम्म भएका सबै सुन तस्करीहरुको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ । सहमति भएसँगै संसद खुल्ने भयो ।’
दलहरुबीच भएको सहमति अनुसार सिआइबीले गरिरहेको अनुसन्धानलाई निरन्तरता दिँदै आयोग गठन हुने भएको छ । असोज ५ सम्ममा अध्ययन गरेर सिआइबीले अभियोजन दर्ता गरेपछि असोज ६ गते सरकारले जाँचबुझ आयोग गठन गर्नेछ ।
उक्त आयोगले पटकपटक भएको सुन तस्करीबारे अनुसन्धान गरेर सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यदेश पाएको छ ।















