Logo
Logo
एकीकृत समाजवादीको बैठक

‘कोशी विरुद्धको आन्दोलनमा पार्टीको उपस्थिति कमजोर भयो’


2.5k
Shares

काठमाडौं । काठमाडौंमा जारी नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा कोशीविरुद्धको आन्दोलनमा पार्टीको उपस्थिति कमजोर भएको भन्दै नेतृत्वको आलोचना भएको छ ।

प्रदेश १ को नामकरणका सन्दर्भमा पार्टीले पहिचानलाई आत्मसाथ गर्दै छुट्टै नाम प्रस्ताव गर्दै प्रदेशसभामा दर्ता गरेको स्मरण गराउँदै केन्द्रीय सदस्यहरूले कोसी विरुद्ध जारी पहिचान पक्षधरको आन्दोलनमा पार्टीको उपस्थिति कमजोर भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन् ।

प्रदेश १ को नामकरणका क्रममा एकीकृत समाजवादीले पहिचान र भूगोललाई आत्मसाथ गर्दै ‘किरात लिम्बुवान सगरमाथा’ नाम प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । 

त्यसपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशको नाम कोसी दर्ता गराएका थिए । कोसी प्रस्तावमा मत विभाजन हुँदा कोसी नामले पहिचान अस्वीकार गर्ने भन्दै एकीकृत समाजवादीले विपक्षमा मतदान गरेको थियो ।

पहिचानको आधारमा छुट्टै नाम प्रस्ताव र कोशीको विपक्षमा मतदानले प्रदेश १ मा एकीकृत समाजवादीले राम्रो छवि बनाएको छ । जनभावना अनुरूप गरिएको निर्णय र भूमिकाका कारण पार्टीप्रति सकारात्मक धारणा बने पनि नेतृत्वले त्यस विषयलाई गम्भीरतापूर्वक लिन नसकेको केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन् । 

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले भूगोलको भावना र चाहना पहिचान नै रहेकाले पहिचानकै आधारमा प्रदेश १ को पुनः नामकरण हुनुपर्ने धारणा राखेका छन् । प्रदेश १ को पुनः नामकरणको माग गर्दै भएको आन्दोलनमा एक जनाले ज्यान नै गुमाइसकेको विषयलाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने उनीहरूको धारणा रहेको छ ।

बैठकमा अशेष घिमिरे, दामोदर अर्याल, जीवन राई, पासाङ शेर्पा, टोक बहादुर वाइबा, विद्या चाम्लिङ, लिनु लङ्वा लगायतले प्रदेश १ को नाम पहिचानका आधारमा हुनुपर्ने र पुनः नामकरणको सन्दर्भमा पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्