काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतको आदेश शक्तिपृथकिकरणको सिद्धान्त विपरित रहेको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले सदनले पास गरेको बिनियोजन बिधेयकमा रहेको संसद विकास कोषसम्बन्धी बिषय कार्यान्वयन नगर्नु भनेर दिएको आदेश आधारभूत रुपले लोकतन्त्रको शक्तिपृथकिकरणको सिद्धान्त विपरित रहेको बताएका हुन् ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले सीमाभित्र रहेर काम गर्नुपर्ने भन्दै उनले राज्यका तीन अंगले अर्काको सीमामा हस्तक्षेप गर्दा लोकतन्त्रलाई कमजोर पार्ने काम हुने जिकिर गनरे । आफुसँग भएको स्रोतको बिनियोजन गर्ने कानून बनाउने काम संसदको काम भएकाले यसलाई हस्तक्षेपले संसदीय व्यवस्थालाई कमजोर बनाउने उनको भनाइ छ ।
लेखकले न्यायीक क्रियाशिलताले धेरै देशहरुमा लोकतन्त्रलाई समाप्त पार्ने काम गरेको समेत बताए ।














